पहिरोले मध्यपहाडी लोकमार्गमा ट्रक पुरियो

असार ५, २०८१ | सिन्धुली

मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा पहिरो खस्दा एउटा ट्रक पुरिएको छ । बुधबार बिहान लेदोसहित खसेको पहिरोले ट्रक पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

लेदो सहितको पहिरो खस्दा प्रदेश–२ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । प्रहरीका अनुसार चालक पर्साको परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । 

लगातारको वर्षापछि खसेको पहिरोका कारण खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा यातायात सेवा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ । 

यान्त्रिक कार्यालय मुलकोटबाट जेसीबी मगाएर पहिरो पन्छाउने काम भइरहेको सिन्धुलीका प्रहरी उपरीक्षक एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । सोही मार्ग अन्तर्गत गोलन्जोर–६ को अक्करे भीरमा समेत लेदो माटो खसेर सडक अवरुद्ध बनेको छ ।


प्रतिक्रिया