विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको तयारी

असार ६, २०८१ | काठमाडौं

सरकारले लामो समयदेखि बन्द भएर रुग्ण अवस्थामा रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राजेन्द्र कार्कीको अध्यक्षतामा सञ्चालक समिति गठन गर्दै जुट मिल पुनः सञ्चालनको तयारी गरेको हो । गठन भएको समितिलाई पहिलो चरणमा उद्योगको लेखा परीक्षण गर्ने, साधारण सभागर्ने र उद्योगको सम्पतीको संरक्षण गर्ने जिम्मेवारी दिइएको अध्यक्ष कार्कीले बताउनुभयो ।

भारतको टाटा कम्पनीले मिल सञ्चालन गर्ने चासो देखाउँदै मिलका मेशिनरी सामान र भौतिक पूर्वाधारको निरीक्षण पश्चात ७२ प्रतिशत मेशीनरी सामान पुर्नप्रयोग गर्न सकिने प्रतिवेदन दिएको थियो । त्यसैको आधारमा सरकारले मिल सञ्चालनको तयारी सुरु गरेको हो ।

विक्रम सम्वत् १९९३ मा स्थापना भएको उद्योग २०४६ सालयता पटक पटक बन्द हुने र चल्ने क्रममा २०७८ सालदेखि सञ्चालक समिति समेत नहुँदा रुग्ण अवस्थामा छ । सरकारको ६८ प्रतिशत शेयर रहेको सो उद्योगको नाममा विराटनगरमा साँढे ६८ विघा र झापाको दमकमा साँढे नौ कठ्ठा जमिन छ ।

२०४६ अघी दैनिक ४५ टन जुटका तयारी सामान उत्पादन गर्दै आएको विराटनगर जुट मिल राजनीतिक हस्तक्षेपका कारण बन्द हुन पुगेको हो । २०६६ सालमा ५६ करोड रकम निकासा गरि मिलमा कार्यरत २ हजार बढी कर्मचारीलाई बिदा गर्दै सरकारले मिल बन्द गरेको थियो ।    


प्रतिक्रिया