पानीको निकास नहुँदा विराटनगर जलमग्न

असार १२, २०८१ | विराटनगर

पानीले निकास नपाउँदा मोरङको विराटनगर बुधबार आकासे झरीमै जलमग्न भएको छ । गएरातिदेखि परेको अविरल वर्षाले विराटनगर महानगरपालिकाका १९ वटै वडाबासी डुबानबाट प्रभावित भएका छन् । 

डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन् । सडक भन्दामाथि नाला निर्माण हुनु र नालाको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ । महानगर–३ को हिमाली मार्ग, फिफा, त्रिमार्ग, आस्था र मितेर मार्गका ९० प्रतिशत घर डुबानमा परेका छन् । 

स्थानीय वासु भण्डारीका अनुसार पहुँचका आधारमा सडक र नाला निर्माण गरेर पानीको निकास नगर्दा वडाको पुरै वस्ती नै डुबानमा परेको हो । उनका अनुसार हिमाली मार्ग अन्तर्गतका घरको भुईँ तलामा पानी छिरेको छ । यसक्षेत्रका अधिकांश घरको भुईँ तलामा दुई फिटसम्म पानी जमेको छ । 

वडा–३ कै पिपल चोकको प्रताप मार्गको सडक निर्माण गर्ने क्रममा सडक भन्दामाथि नाला बनाईंदा त्यहाँका सय भन्दा बढी घर डुबानमा परेको स्थानीय पिताम्बर बजगाईले बताए । उनले भने, ‘सडक तल र नालामाथि निर्माण गरेर निकास बन्द गर्दा यहाँका सबै घरको भुईँ तलामा तीन फिटसम्म पानी जमेको छ ।’

विराटनगर–४ अर्न्तगत एयरपोर्ट क्षेत्र सहित रामजानकी टोल, रेग्मी समाज टोल र कुमारी राइस मिल आसपासको बस्ती डुबानमा परेको छ । वडा–६ को वरमपुराका ५ सय भन्दा बढी घर डुबानमा परेको वडा अध्यक्ष अक्षय सहनीले बताउनुभयो । 

उहाँका अनुसार स्थानीय वस्ता खोलाको पानी बस्तीमा पस्दा घर डुबानमा परेका हुन् । वडा नम्बर–११ को जनपथ र मडी टोलका अधिकांश घर डुबानले प्रभावित बनेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताउनुभयो । वडा नम्बर–८ को सरस्वती टोल डुबानमा परेको छ । 

महानगरको वडा नं १५, १६, १७ र १८ का मिल्स एरिया, लंका, दरैया, दामागिरी र स्लामपुर सहितका अधिकांश बस्ती डुबानले प्रभावित भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो । 

महानगर प्रमुख नागेश कोइरालाले एशियाली विकास बैंक लगायत विभिन्न दातृ निकायको सहयोगमा सडक र नाला निर्माण गरिँदा पानीे निकासको विकल्प नखोजिएका कारण महानगरमा बर्सेनि डुबानमा पर्दै आएको बताउनुभयो । ‘सडक र नाला त बनाइयो तर पानीको निकास बारे कसैले पनि ध्यान नै दिएनन्’, कोइरालाले भन्नुभयो, ‘बिना योजना गरिएको विकास निर्माणले महानगरवासीले आकासे पानीमै डुबानको सास्ती खेप्नु परेको छ ।’

डुबानका कारण महानगरका अधिकांश विद्यालय बुधबार बन्द रहेको प्याब्सन मोरङका अध्यक्ष प्रेम सुवालले बताउनुभयो । महानगरले पनि डुबानको अवस्था हेरेर विद्यालय खोल्न निर्देशन दिएको महानगर प्रमुख कोइरालाले बताउनुभयो ।


प्रतिक्रिया