रामबहादुर बम्जनलाई १० बर्ष कैद पीडितलाई ५ लाख क्षतिपुर्ति

असार १७, २०८१

बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई ५ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको ईजलासले आज अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । यसअघि गत असार १० गते भण्डारीकै ईजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । आजको ईजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदावी सहित अभियोग पत्र दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।


प्रतिक्रिया