तिमाङ खोलाको बाढीले काठेपुल बगायो, बेंसीसहर-चामे सडक अवरुद्ध

असार १९, २०८१ | लमजुङ

मनाङको चामे गाउँपालिका–१, तिमाङको तिमाङखोलामा आएको बाढीले काठेपुल बगाएको छ । मंगलबार राति पौने ८ बजेतिर बाढीले पुल बगाएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार तिमाङखोलामा आएको बाढीले काठेपुल बगाउँदा बेंसीसहर–चामे सडकखण्ड अवरुद्ध बनेको हो । 

यस्तै, तिमाङकै तल्लो क्षेत्र तिमाङ छहराबाट गेग्रान थुप्रिँदा पक्की पुल समेत धरापमा परेको छ । यसअघि पनि काठे पुल बनाएर सवारी आवतजावत भइरहेको तिमाङ खोलामा ३ वर्षअघि बेलिब्रिज राखिएको थियो । 

२०७८ असारको भीषण बाढीले बेलिब्रिज बगाएपछि काठेपुल राखेर सवारी आवतजावत गरिएको थियो । सो पुल पनि अहिले बगाएपछि मनाङ सदरमुकाम चामेसहित माथिल्लो मनाङको ३ वटा स्थानीय तहसँग सडक सम्पर्क टुटेको जिल्ला समन्व्य समितिका प्रमुख चिनबहादुर घलेले बताउनुभयो । 

वर्षा र बाढीपहिरो कम भएपछि तिमाङखोलामा अर्को विकल्प नहुञ्जेल पुनः काठेपुल राखिने मनाङ प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक वयवस्था नहुञ्जेल सो क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी लामिछानेले अहिले पनि पानी परिरहेको र थप क्षति हुन सक्ने भन्दै सतर्क अपनाउन आग्रह गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङ र लमजुङले अविरल वर्षासँगै बाढी पहिरोको आईरहेको भन्दै नदीनालाका तटीय तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र सतर्क रहन नागरिकलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया