जगत नजिकै पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध

बेंसीसहर–चामे सडकको मर्स्याङ्दी गाउँपालिका–४, जगत र हावाडाँडाबीचको खोल्सी क्षेत्र । फाइल तस्बिरः रेडियो कान्तिपुर ।  

असार २२, २०८१ | लमजुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, जगत र हावाडाँडाबीचको खोल्सीमा पहिरो खस्दा बेंसीसहर–चामे सडकखण्ड अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि तल्लो मनाङतर्फ आवतजावत रोकिएको छ । 

तिमाङमा केही दिनअघि बाढी पहिरोले पुल बगाएपछि चामेसहित माथिल्लो मनाङमा सवारी साधन आवतजावत हुन सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरोले बाटो अबरुद्ध बनाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले शनिबार बिहान पहिरो खसेको जानकारी आएको बताउनुभयो । पहिरोले अबरुद्ध सडक खुलाउन प्रहरी टोली खटिएको उहाँले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार खोल्सीमा माथिको पहराबाट ढुंगासहितको पहिरो झरेको छ । राति करिब ३–४ बजेतिर पहिरो खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

मर्स्याङ्दी गाउँपालिका–४ का वडाअध्यक्ष बलबहादुर गुरुङले हावाडाँडा र जगतबीचको सडकमा ढुंगासहितको पहिरो खस्दा आवागमनमा समस्या भएको बताउनुभयो । 

तल्लो क्षेत्रबाट सवारी आवागमन समेत नभएको उहाँको भनाई छ । ‘रातिदेखि पानी परिरहेको छ । तल बेंसीसहरतिरबाट माथितिर गाडी आएको छैन’, उहाँले भन्नुभयो, ‘माथिबाट पनि तल गएको छैन । बाढी पहिरोको जोखिम छ ।’


प्रतिक्रिया