पाल्पाको सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक पहिरोले अवरुद्ध

पाल्पाको तानसेन–बुटवल सडक खण्डको बर्तुङ नजिकै खसेको पहिरो । तस्बिर : माधव अर्याल/रेडियो कान्तिपुर  

असार २२, २०८१ | पाल्पा

शुक्रबार रातिदेखिको अविरल वर्षापछिको खसेको पहिरोले पाल्पाको सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा तानसेन–बुटवल खण्डको बर्तुङ र कालीमाटी क्षेत्रमा पहिरो खसेको छ । 

पहिरोले कालीमाटीमा दुई वटा जिप पुरिएको परिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

हरेक वर्ष सोही स्थानमा वर्षायाममा लेदो सहितको पहिरो खस्ने गरेपनि यसको नियन्त्रणका लागि सम्बन्धित निकायले चासो देखाएको पाइदैन । राजमार्गकै अगाहाखोला र पिपलडाँडा बीचको सीता पहाडमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

राम्दी क्षेत्र पनि पनि पहिरोले सडक अवरुद्ध भएको प्रहरलिे जनाएको छ । रिब्दीकोट गाउँपालिकाको खस्यौली मालमुलमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा घरमा क्षति पुगेको छ । सडकमा खसेको पहिरो हटाउने सडक विभाग र निजी क्षेत्रका डोजर परिचालन गरिएको प्रहरीले जनाएको छ । 

रातिदेखि नै सडक अवरुद्ध भएपछि पहाडी जिल्लाबाट बुटवल जाने र बुटवलबाट पाल्पा लगायत पहाडी जिल्ला हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन् । वर्षा नरोकिएकाले पहिरो पन्छाउन समेत समस्या भइरहेको प्रहरीले जनाएको छ ।

कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले पाल्पाको तानसेन लगायत आसपासका क्षेत्रमा ठूलो पानी परेसंँगै तिनाउ, दोभान, झुम्सा, निस्दी, अरुण खोलामा जलसतह सतर्कता तह पारेको जनाएको छ ।

पाल्पा लगायत आसपासका क्षेत्रमा शुक्रबार बेलुकीदेखि नै ठूलो पानी परेको छ । तिनाउ नदी बुटवल जलमापन केन्द्रले पनि शनिबार बिहान जलमापन गर्दा जलसतह पारेको गर बढ्दो क्रम रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको हो । पाल्पा लगायत आसपासका क्षेत्रमा शनिबारबिहान पनि पानी परिरहेको छ ।


प्रतिक्रिया