गुल्मीमा घर भत्किएर पुरिएकी महिलाको उद्धार, सडक अबरुद्ध

असार २२, २०८१ | गुल्मी

गुल्मीमा घर भत्किँदा पुरिएकी एक महिलाको उद्धार गरिएको छ । रुरुक्षेत्र गाउँपालिका–३ थोर्गामा शनिबार बिहान घरमाथिबाट खसेको पहिरोका कारण घर भत्किँदा पुरिएकी उजेली विकको छिमेकीहरले उद्धार गरेका हुन् । 

उनको उद्धार गरी रिडी आधारभूत अस्पताल लागिएको वडाध्यक्ष शेषनारायण पौडेलले बताउनुभयो । ‘घर भत्केपनि भर्‍याङ मुनि रहेकोले ठूलो चोट पटक लागेको छैन’, उहाँले भन्नुभयो, ‘आन्तरिक चोटपटक थाहा नभएकोले रिडी आधारभूत अस्पताल पठाउँदै छौं ।’ 

पहिरोले गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित रेशम पुलामीको घर पुरिँदा उनको परिवार विस्थापित भएको वडाध्यक्ष जितु तरामुले जानकारी दिनुभयो । बाढी पहिरोको कारण जिल्लाबाट बाहिरिने मुख्य सडक सहित अधिकांश सडक अवरुद्ध भएका छन् । 

पहिरोले रुरुक्षेत्र–४ कालिका मोडस्थित रिडि–तम्घास पक्की सडक अबरुद्ध हुँदा गुल्मीबाट पाल्पा हुँदै बुटवल–काठमाडौं जाने सडक समेत बन्द भएको छ । त्यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी खण्डका खोलाहरुमा पानीको बहाव बढ्दा सडक पूर्ण रुपमा बन्द छ । 

सो सडकमा पर्ने रोदीखोला, घमिर खोला र फुलबारी खोला पानीको सतह बढेको छ । सडक बन्द भएपछि मदाने, मालिका तथा इश्मा गाउँपालिकाबाट सदरमुकाम आउजाउ गर्ने यात्रुलाई समस्या भएको छ । 

रिडी–रुद्रवेणी–वामीटक्सार सडकमा पर्ने उल्ली खोला र नदेवा खोलामा पानीको बहाव बढ्नुका साथै टेलिमिल र मजुवा बजारमा पहिरो खसेपछि सो सडक समेत अबरुद्ध छ । 

सडक अवरुद्ध भएपछि पश्चिम बाग्लुङ र गुल्मीको मुसिकोट, चन्द्रकोट लगायत पालिकाहरुबाट पाल्पा बुटवल जाने यात्रुहरु अलपत्र परेका छन् । पहिरोले जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सडक समेत अबरुद्ध भएको स्थानीय तहहरुले बताएका छन् । 


प्रतिक्रिया