पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर ठप्प

असार २६, २०८१ | बाग्लुङ

अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । राष्ट्रिय राजमार्ग बन्द भएपछि यात्रीलाई सास्ती भएकोे छ । 

बाग्लुङको गलकोट नगरपालिका–१ को झाँक्रीस्थान नजिकै खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो । 

पहिरो हटाएर यातायात चलाउने प्रयास भएपनि निरन्तर वर्षाका कारण तत्काल सडक खुलाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले बताउनुभयो । सडक अबरुद्ध भएपछि बागलुङ सदरमुकामदेखि पश्चिमतर्फ हिँडेका सबै सवारी साधन बाटोमै रोकिएका छन् ।

यस्तै, गत शनिबार खसेको पहिलोले अवरुद्ध भएको कालीगण्डकी करिडोर अझै सञ्चालनमा आउन सकेको छैन । करिडोरको एक्लेसाल भन्ने स्थानमा खसेको पहिरो हटाउन समय लाग्दा विगत चार दिनदेखि यातायात सेवा बन्द छ । 

सडक खुलाउने प्रयास भएपनि सबै पहिरो हटाउन अझै दुई दिन लाग्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मालढुंगा–कुश्मी सेरा सडक पनि ठप्प छ । 

यातायात नचल्दा बिरामीहरु बढी प्रभावित भएका छन् भने किसानको दूध र तरकारी ढुवानीमा समेत समस्या भएको छ । अविरल वर्षाका कारण दर्जन बढी ग्रामीण सडक पनि बन्द भएका छन् । 


प्रतिक्रिया