सल्यानमा एक वर्षमा १०२ सवारी दुर्घटना, १८ जनाको मृत्यु

क्याप्सनः बाग्चौर नगरपालिकाको ठिनबा खोला पुल नजिकै अनिययन्त्रित भएर दुर्घटनामा परेको यात्रुबाहक बस ।  तस्बिरः विप्लव महर्जन, रेडियो कान्तिपुर

श्रावण ३, २०८१ | सल्यान

गत आर्थिक वर्ष २०८०÷०८१ मा सल्यानका विभिन्न स्थानमा १ सय २ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

सवारी साधन दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् भने ७० गम्भिर र १ सय ४१ सामान्य गरी २ सय ११ घाईते भएका छन् । सडकको दुरावस्था, पुरानो गाडी, चालकको लापरवाही, क्षमता भन्दाबढि यात्रु र ट्राफिक नियमको पालना नगर्दा सो संख्यामा सवारीसाधन दुर्घटनामा परेको पाइएको हो ।

सम्बन्धित निकायले बारम्बार सवारी दुर्घटना न्यूनिकरण कार्यक्रम सञ्चाालन गर्दै आएपनि दुर्घटना भने घट्न सकेको छैन । सल्यानमा चालकको लापरवाही र ओभर स्पिडका कारण बढि सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सितलपार्टीका निमित्त ईन्चार्ज मदनलाल उपाध्यायले बताउनुभयो ।

गत वर्षमा बस ९, ट्रक ६, ट्याक्टर १२, जीपकार १७ मोटरसाईकल ५० र अटो ११ दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । उपाध्यायका अनुसार कार्यालयले ट्राफिक नियम पालना गर्न कडाई गर्दै आएको र पालना नगरेकालाई कारवाही गर्दै आएपनि नियमपालनामा चालकले खासै ध्यान दिएको देखिँदैन ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम खत्रीले दुर्घटना हुनुको धेरै कारण भएपनि चालकले कम सचेतना अपनाउँदा बढि दुर्घटना हुने गरेको बताउनुभयो । कार्यालयले सडकमा गुडिरहेका गाडी रोकेर, सामूहिक रुपमा सहभागी गराएर दुर्घटना न्यूनिकरणकालागि सचेतना फैलाउने काम गरिरहेको छ ।

क्याप्सनः बाग्चौर नगरपालिकाको ठिनबा खोला पुल नजिकै अनिययन्त्रित भएर दुर्घटनामा परेको यात्रुबाहक बस । तस्बिरः विप्लव महर्जन, रेडियो कान्तिपुर 


प्रतिक्रिया