मनाङको तिमाङ खोला पावरहाउसमा काठेपुल निर्माण

मनाङको चामे गाउँपालिका १, तिमाङखोला पावरहाउसमा बनाइएको काठे पुल । तस्बिरः आश गुरुङ, रेडियो कान्तिपुर  

श्रावण ४, २०८१ | लमजुङ

मनाङको चामे गाउँपालिका १ तिमाङखोला पावरहाउसमा रहेको काठेपुल बगाएको ठाउँमा पुनः काठेपुल निर्माण भएसँगै सवारी आवागमन सुरु भएको छ । 

तिमाङ खोलामा २०७८ असारमा आएको बाढीले बेलिब्रिज बगाएपछि बनाएको काठेपुल गत असार १७ गते राती आएको बाढीले पुनः बगाएको थियो ।

डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले साढे ७ मिटर लम्बाई र ४ मिटर चौडाईको काठेपुल बनाएको हो । आयोजनाका सव ईन्जिनियर सुमन अधिकारीले १०–११ मिटरका काठ प्रयोग गरि पुल निमार्ण गरिएको जानकारी दिनुभयो ।

जल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेका अनुसार शुक्रबारदेखि काठे पुल सञ्चालनमा आएको छ । तर, तिमाङ छहरामा पुल नबन्दा भने समस्या छ । नयाँ काठको पुल बनेपछि जीप, ट्रयाक्टर, मोटरसाइकल सञ्चालमा आएको घलेले बताउनुभयो ।

बेंसीसहरबाट नासों गाउँपालिका ९, दानक्युसम्म जिप सञ्चालन भइरहेको घलेले जानकारी दिनुभयो । सडक आयोजनाका सवईन्जिनियर अधिकारीले तिमाङ छहराको लागि बेलिब्रिज माग गरिएको बताउनुभयो । 

 नेपाली सेनाले २०६९ मा मनाङ सदरमुकाम चामेसम्मको ट्रयाक खोल्दा यी क्षेत्रमा काठेपुल राखिएको थियो । काठेपुल विस्थापित गर्दै ठूलो छहरा र सानो छहरामा स्ल्याब कल्भर्ट पुल निर्माण गरिएको थियो ।

 २ वर्षअघि निर्माण गरिएको स्ल्याब कल्भर्ट पुल असार १७ गते राती र १८ गते आएको बाढीले बगाएको हो । 

मनाङको चामे गाउँपालिका १, तिमाङखोला पावरहाउसमा बनाइएको काठे पुल । तस्बिरः आश गुरुङ, रेडियो कान्तिपुर

प्रतिक्रिया