पोखरामा स्कूल बस दुर्घटना, आमा र छोराको मृत्यु
श्रावण १४, २०८१ | पोखरा
कास्कीको पोखरा महानगरपालिका–२१ छरछरेमा स्कूल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विद्यार्थी लिएर फर्कंदै गरेको एलपी देवकोटा मेमोरियल स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
दुर्घटनामा सो विद्यालयकी कार्यालय सहयोगी ३५ वर्षीया आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वसन्तकुमार शर्माले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । बसमा चालक, २८ विद्यार्थी र एक कर्मचारी सवार थिए ।
प्रहरीका अनुसार रामदीबाट विरौटा फर्कने क्रममा बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी शर्माले जानकारी दिनुभयो ।