महिला कानून व्यवसायी कानून परिवर्तनको संवाहक हुन्ः न्यायाधीश मल्ल
पुस १३, २०८१ | काठमाडौं
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिला कानून व्यवसायी कानून परिवर्तनको संवाहक भएको बताउनुभएको छ ।
मोरङको विराटनगरमा कानून व्यवसायी महिलाहरुको ३१ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मल्लले महिलाका हरेक पाइलामा प्रश्न उठ्ने गरेको टिप्पणी गर्नुभयो । महिलाहरु अझै अब्बल भएर नेतृत्वमा आउनुपर्ने उहाँको भनाई थियो ।
देशभरका अदालतमा धेरै महिला मेलमिलापमा संलग्न रहेको भन्दै उहाँले यसलाई प्रभावशाली बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । न्यायाधीश मल्लले बार र बेन्चबीच असमझदारी उत्पन्न हुने गरेपनि दुई निकायको सम्बन्ध ज्यादै अटुट रहेको जिकिर गर्नुभयो ।
दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देशभरबाट ३ सय महिला कानून व्यवसायीसहित एक हजार जनाको सहभागिता रहेको छ ।