बेंसीसहर–चामे सडक खण्डमा झण्डै एक महिनापछि सवारी आवागमन सुरु
श्रावण १४, २०८१ | लमजुङ
मनाङको चामे गाउँपालिका र नासों गाउँपालिकाको सिमाना तिमाङखोला छहरामा बाढीले पक्की पुल बगाएको झण्डै एक महिनापछि फलामे पुल राखिएको छ ।
गत असार १७ गते राती आएको बाढीले २ वर्षअघि निर्माण गरिएको पक्की पुल बगाएपछि मनाङ सडक सम्पर्कबाट विच्छेद भएको थियो ।
बाढीले तिमाङखोलाकै पावर हाउसमा रहेको काठेपुल बगाएकोमा पुनः काठेपुल बनाएपछि साउन ४ गते यता सवारी आवतजावत भइरहेको छ ।
तिमाङ छहराको पानी नघट्दा पुल निर्माणमा समस्या भइरहेको र पानी घटेपछि जग उठाएर फलामे पुल राखिएको डुम्रे –बेंसीसहर–चामे सडक आयोजनाका सव ईन्जिनियर सुमन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार फलामको बिम सहितको पुल निर्माणसँगै आजदेखि सवारी आवागमन सुरु भएको छ ।