इर्खुवा खोलामा वेपत्ता भएकाको शव पोष्टमार्टमपछि परिवारको जिम्मामा
श्रावण १९, २०८१ | संखुवासभा
पोष्टमार्टमपछि भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन इर्खुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुई मजदुरको शव शनिबार आफन्तलाई जिम्मा लगाईएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टम गरे पश्चात उनीहरुको शव आफन्तलाई बुझाइएको हो ।
हाइड्रो पावरमा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका ५ का रमेश थारुको शव भोजपुरको षडानन्द नगरपालिका र खाँदबारी नगरपालिकामा पर्ने अरुण नदीको सतिघाट किनारमा बुधबार फेला परेको थियो । श्यामकुमार थारुको शव भने षडानन्द १ मा पर्ने मझुवास्थित नदी किनार नजिकै भेटिएपछि खाँदबारीमा पोष्टमार्टमका लागि ल्याइएको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत उनीहरुलाई मंगलबार राति आएको बाढीले सुतिरहेको अवस्थामा बगाएर बेपत्ता पारेको थियो ।
बाढीमा परेका रामकिसन थारुको भने उद्धार गरिएको थियो । बाढीले बगाएर घाईते अवस्थामा उद्धार गरिएका रामकिसन थारु जिल्ला अस्पताल संखुवासभामा उपचारपछि घर फर्किएका छन् ।