मुग्लिन नजिक नाग्दीमा पहिरो अझै सफा भएन

श्रावण २४, २०८१ | चितवन

चितवनको इच्छाकामना गाउँपालिका–४ मुग्लिन नजिक खसेको पहिरोका कारण पृथ्वीराजमार्ग अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । 

मुग्लिन नजिक नाग्दी खोलामा पहिरो खसेपछि पूर्ण रुपमा बन्द भएको पृथ्वीराजमार्ग हिजो मध्याह्न १२ बजेदेखि एकतर्फी खुलेको थियो । तर, पहिरो हटाउन नसकिएकोले पृथ्वीराजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आउन समय लागेको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले बताउनुभयो । 

हिजो बिहान पहिरो खसेपछि सफा गर्ने क्रममा ढुंगाले लागेर एउटा डोजरमा क्षति पुगेको थियो । डोजरका अप्रेटर लिलाधर अधिकारीको बायाँ हातमा चोट लागेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

हिजो बिहान साढे ७ बजेतिर ढुंगासहितको पहिरो सडकमा खसेपछि पृथ्वीराजमार्गको यातायात अवरुद्ध बनेको हो । पृथ्वीराजमार्ग भएर यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ ।


प्रतिक्रिया