विषाक्त खानाका कारण बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

श्रावण २९, २०८१ | बारा

विषाक्त खानाका कारण बारामा अतिविपन्न एक दलित परिवारका तीन बालबालिकाकाे मृत्यु भएकाे छ । सिम्राैनगढ नगरपालिका-७ झवानी गाउँका नरेश राम चमारका २ छाेरी र १ छाेराकाे मृत्यु भएकाे हाे । 

आइतबार राति पाठे माछा र भात खाएपछि उनीहरूलाई पेट दुख्ने समस्या भएकाे थियाे । त्यसपछि तत्कालै स्थानीय क्लिनिकमा लगिएकाे थियाे । त्यहाँ समान्य उपचारपछि कलैया प्रादेशिक अस्पताल लगिएकाे थियाे । अस्पताल नपुग्दै ९ वर्षीया लालिमा रामकी मृत्यु भयाे ।

त्यसपछि ७ वर्षीया अर्की छाेरी पुष्पा र ५ वर्षीय छाेरालाई वीरगन्जकाे नेशनल मेडिकलमा उपचारकाे लागि भर्ना गर्दा उपचारकै क्रममा सोमबार दुबैकाे मृत्यु भएकाे हाे । 

कलैया अस्पतालमा पाेस्टमार्टम भई उनीहरूकाे भिसेरा जाँचकाे लागि विधि विज्ञान प्रगाेगशालामा पठाइएकाे सिम्राैनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले बताउनुभयो ।

परिवारका बालबालिकाकी आमा, हजुरबुवा र हजुरआमाले त्यही माछा भात खाँदा उनीहरूलाई केही भएकाे छैन । गाउँका अन्यले पनि माछा किनेर खाँदा उनीहरूलाई केही असर नभएकाे प्रहरी निरीक्षक राईले बताउनुभयो ।

राम परिवारकाे घरमा खानतलासी गर्दा कुनै प्ररकारकाे विषादि फेला नपरेकाे राईले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकाे उहाँको भनाइ छ । स्थानीय क्लिनिक सञ्चालक रामबाबु कुसवाहाका अनुसार उनीहरू अचेत अवस्थामा आफ्नाे क्लिनिकमा प्राथमिक उपचारका लागि आएका थिए ।

अवस्था काबू बाहिर भएकाले उपचारका लागि अन्य कलैया र वीरगन्ज अस्पताल पठाइएकाे कुसवाहाले बताउनुभयो । बालबालिकाकाे बुवा भारतमा राेजगारीकाे सिलसिलामा छन् ।


प्रतिक्रिया