सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

श्रावण ३०, २०८१ | धनगढी

सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको दिउँसो ३ बजे बस्ने बैठकमा मुुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । 

एमालेको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह साउन २० मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा उहाँ १४ महिना मुख्यमन्त्री बन्नु भएको थियो । 

सत्ता समीकरण परिवर्तन भएसँगै सहयात्री दलले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते शाहले पदबाट राजीनामा दिनु भएको थियो । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा पारिएको थियो ।

कांग्रेस प्रदेश संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । कुल ५३ सदस्यीय प्रदेश सभामा बहुुमतका लागि २७ सांसद आवश्यक पर्छ । 

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात गरी ३६ जना प्रदेश सभा सदस्य भएकाले मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त गर्न सहज छ । 

नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइ नजिक पुुग्नेछ । तर, लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदले एक ढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन । विश्वासको मत प्राप्त गरेपछि बजेट ल्याउने मुख्यमन्त्री शाहको तयारी छ ।


प्रतिक्रिया