लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने
श्रावण ३०, २०८१ | काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ ४ गते विश्वासको मत लिने हुनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताउनुभयो ।
भदौ ४ गते मंगलवार दिउँसो १ बजे बैठक बस्ने तय भएको उहाँले बताउनुभयो । एमालेका २९ र काँग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते एमाले दलका उपनेता आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
आचार्यको नेतृत्वमा एमालेका चार र काँग्रेसका चार मन्त्री नियुक्त भएका छन् । एमालेले मुख्यमन्त्री सहित ५ र काँग्रेसले ५ मन्त्रालय भागवण्डा गरेका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा दुई मन्त्रालय साना दललाई दिने सहमति भएको छ ।
काँग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त गर्न बाँकी छ ।