सहमतिका आधारमा संक्रमणकालिन न्यायलाई टुंगो लगाउने नेताहरुको प्रतिवद्धता

श्रावण ३०, २०८१

नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको भन्दै प्रधानमन्त्री र दलका नेताहरुले सहमतिका आधारमा संक्रमणकालिन न्यायलाई टुंगो लगाउने प्रतिवद्धता जनाएका छन् । द्धन्द्ध पीडितलाई न्याय दिने गरी विधेयक आएको चर्चा गर्दै उनीहरुले शान्ति प्रक्रियाका लागि महत्वपूर्ण काम अघि बढेको समेत बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बिषय सहमतिका आधारमा अघि बढ्नु सकारात्मक भएको चर्चा गर्नुभयो । उहाँले संक्रमणकालिन न्यायसम्वन्धि आयोगहरु समेत सहमतिकै आधारमा बनाइने बताउनुभयो ।

द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी आफूहरु अघि बढेको उहाँको भनाइ थियो । नेपालको द्धन्द्ध व्यवस्थापन विश्व समुदायका लागि उपयोगी हुने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताउनुभयो । पूर्व विद्रोही नेता दाहालले दलहरुबीचको सहमतिका आधारमा व्यवस्था परिवर्तन गर्दै शान्ति प्रक्रिया अघि बढ्नु असाधारण परिघटना भएको उल्लेख गर्नुभयो–

दाहालले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गर्नुभयो । वृहत्त शान्ति सम्झौताको हस्ताक्षरकर्ताको रुपमा शान्ति प्रक्रियाप्रति आफू प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रस्तुत भएको विधेयकले संक्रमणकालिन न्यायका आधारभूत मान्यतालाई अवलम्वन गरेको बताउनुभयो ।

विधेयक प्रचलित कानून, सर्वोच्चको फैसला र अन्तराष्ट्रिय मापदण्ड अनुकूल रहेको देउवाको भनाइ छ । द्धन्द्धपीडितलाई न्याय दिने गरी विधेयक आएको उहाँले उल्लेख गर्नुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ठूलो मिहिनेतका साथ दलहरुले शान्ति प्रक्रियालाई अघि बढाएको बताउनुभएको छ । शान्तिपूर्ण राजनीतिमा विद्रोही माओवादीको प्रवेशको विगत स्मरण गर्दै नेता नेपालले शान्ति प्रक्रियालाई देशको हित अघि बढाइएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फेरि द्धन्द्ध सृजना नहुने गरी शान्ति वहालीका लागि अघि बढ्नुपर्ने बताउनुभयो । शान्ति प्रक्रियालाई सहज ढंगमा लैजान तत्कालिन राजा ज्ञानेन्द्रको भूमिका विर्सन नहुने लिङदेनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पीडितलाई न्याय दिने बिषय महत्वपूर्ण भएको बताउनुभयो । संक्रमणकालिन न्यायका लागि अन्तराष्ट्रिय समुदायले प्रश्न नउठाउने गरी काम गर्नुपर्ने लामिछानेको भनाइ थियो ।

विधेयकमाथिको छलफलमा भाग लिदै सबैजसो दलका सांसद र स्वतन्त्र सांसदहरुले पीडितलाई न्याय दिने गरी संक्रमणकालिन बिषयलाई अघि बढाउन आग्रह गरेका थिए । 


प्रतिक्रिया