लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई दुईतिहाई सांसदको विश्वासको मत
भाद्र ४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुईतिहाई सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा सहभागी ८६ सांसदहरु मध्ये ७० जना सांसदले आचार्यको पक्षमा मत दिएका छन् । विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्तिले जानकारी दिनुभयो ।
आचार्यलाई नेकपा एमाले, नेपाली कांग्रेस सहित लोसपाका ३, जनमतका ३, जसपाका २, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र १ जनाले समर्थन गरेका छन् । मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् ।
माओवादीकी कृष्णा केसी बैठकमा उपस्थित भएर पनि मतदानमा सहभागी हुनुभएन । राप्रपाका सांसद तटस्थ बसेका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।