नारायणगढ-मुग्लिन सडकखण्डको सत्रकिलोमा बस पल्टिँदा २५ जना घाईते
भाद्र ७, २०८१ | चितवन
नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गुडी रहेको बसमाथि शुक्रबार दिउँसो अचानक ढुंगा खस्दा बस अनियन्त्रित भइ सडकमा पल्टिएको छ । बस पल्टिँदा २५ यात्रु घाईते भएका छन् । घाइतेमध्ये दुईजना गम्भीर रहेको चितवन प्रहरीले जनाएकोछ ।
रौतहट गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि दिउँसो पौने दुई बजे ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताउनुभयो ।
घाइतेहरूको भरतपुरस्थित सरकारी अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सत्रकिलोमा यसअघि बुधबार बिहान काठमाडौंबाट भरतपुर आउँदै गरेको माइक्रोबसमाथि ढुंगा खस्दा दुई यात्रु सामान्य घाइते भएका थिए ।
गत असार २८ गते बिहान यही ठाउँमा बसमाथि ढुंगा खस्दा चालकको निधन भएको थियो ।