रुपन्देहीमा तीजको दर खाएका १७ जना स्थानीय बिरामी

भाद्र ८, २०८१ | तिलोत्तमा

रुपन्देहीको देवदहमा तीजको दर खाएपछि १७ जना स्थानीय बिरामी परेका छन् । सामूहिक रुपमा दर खाएका देवदह नगरपालिकाको वडा नम्बर–५ र ६ का महिला तथा पुरुष गरी १७ जना बिरामी परेका हुन् । 

बिहीबार सहारा आमा समूहमा आवद्ध महिला सहित उनीहरुका परिवार सहभागी भई सामूहिक रुपमा दर खाएका थिए । बिहानै खाना खाएर बुटवलको फूलबारी घुमर फर्केका उनीहरुले पुनः खाजा खाई रमाइलो गरेर घर गएको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले बताउनुभयो । उहाँका अनुसार शुक्रबार बिहानदेखि १७ घरका महिला तथा पुरुषलाई स्वास्थ्य समस्या देखिएको थियो । 

उनीहरुलाई वान्ता हुने झाडापखाला लाग्ने र उच्च ज्वरो आएपछि नगर अस्पताल, स्थानीय गिरी मेडिकल हलमा उपचारका लागि लगिएको थियो । उपचारपछि स्वास्थ्य अवस्था सामान्य बनेका केही महिला घर फर्किएका छन् भने केहीको उपचार जारी छ । 

शुक्रबार दिउँसोदेखि भने पुरुषहरुमा पनि उही समस्या देखिएको नगरपालिकाका प्रवक्ता डुम्रेले जानकारी दिनुभयो । उनीहरुको समेत सोही अस्पताल, मेडिकल तथा केहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको उहाँले बताउनुभयो । 

गिरी मेडिकलका सञ्चालक छविराज गिरीका अनुसार खानामा केही तादम्यता नमिल्दा बिरामी परेको हुनसक्ने बताउनुभयो । बिरामीले अचार, मासु, तरकारी सबै चिज खाएको र तीनैमध्ये केही खाद्यान्न नमिल्दा स्वास्थ्यमा समस्या आएको उहाँको भनाई छ । 

‘हामीले लक्षण हेर्दा फुड पोइजनिङ जस्तो लाग्यो,’ उहाँले भन्नुभयो, ‘यो सामान्य जाँचका आधारमा ठोकुवा गर्न मिलेन, तर खाना खाएपछि बिरामी पर्दा खानपानमै समस्या भएको हो ।’ दर खाने कार्यक्रममा ४० घरपरिवार सहभागी भएका थिए ।


प्रतिक्रिया