महोत्तरीमा स्रोत नखुलेको पन्ध्र लाख भारुसहित दुई भारतीय पक्राउ

भाद्र ९, २०८१ | महोत्तरी

महोत्तरीमा सशस्त्र प्रहरीले स्रोत नखुलेको मोटो रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । जलेश्वर नगरपालिका २ स्थित मालिवडामा सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ सहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरु जिल्ला वैशाली हाजिपुरका ३४ वर्षका ललन कुमार र सोही ठाउँका २६ वर्षीय मोहन कुमार रहेको नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिनुभयो ।

आइतबार विहान सशस्त्र प्रहरी बल , नेपाल गुल्म जलेश्वरबाट मलिबडा बसपार्क इलाकामा डिउटिमा खटेको प्रहरी निरीक्षक गान्धर कुमार चौलागाईंको टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको भारतीय नम्बरप्लेटको विआर ३१ एके ८८०७ नम्बरको कार जाँच गर्ने क्रममा स्रोत नखुलेको सो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

कारको डिक्किभित्र लुकाई राखिएको भारतीय रुपैयाँ पाँच सय, दुई सय र एक सय दरका नोटहरू फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ । 


प्रतिक्रिया