आँबुखैरेनी-मुग्लिन सडक सोमबार बिहान चार घण्टाका लागि बन्द

भाद्र १०, २०८१ | तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज बिहान करीब चार घण्टाका लागि बन्द गरिएको छ । तनहुँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बिहान साढे ६ देखि १० बजेसम्म सो सडक मार्गमा यातायात आवागमन पूर्णरुपमा बन्द हुने जनाएको हो । 

गत शुक्रबार आँबुखैरेनी–२ ऐनापहाराबाट मस्र्याङदी नदीमा खसेको बस निकाल्न मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले करीब चार घण्टाका लागि सो सडक बन्द गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी मैता बहादुर गुरुङले जानकारी दिनुभयो । 

गत शुक्रबार पोखराबाट काठामाडौंतर्फ आँउदै गरेको भारतीय नम्बरको बस मस्र्याङदी नदीमा खसेको थियो । दुर्घटनामा परी भारतको महाराष्ट्रको नासिकबाट नेपाल घुम्न आएका २७ जनाको मृत्यु भएको थियो । १६ जना घाइते भएका थिए भने एक जना नदीमा बेपत्ता छन् ।

यस्तै, सोही समयमा आँबुखेरेनी गाउँपालिका–४ साँखर सडकखण्डमा पनि यातायातको आवागमन बन्द गरिएको छ । सो स्थानमा पहिरो नियन्त्रण र सडकका भित्ताको जोखिमपूर्ण ढुङ्गा निकाल्ने काम भईरहेको सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । 


प्रतिक्रिया