पाँचथर विस्फोटमा थप एक बालकको मृत्यु
भाद्र १४, २०८१ | पाँचथर
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ ।
विस्फोटमा परि स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको पनि मृत्यु भएको हो । माओवादी कार्यकर्ता आइतराज केरुङ को घरमा विस्फोट हुँदा सोहि घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन राई, स्थानीय दिपक राईका ९ वर्षीय छोरा दिप्सन र दिलिप सॉवाका ११ वर्षीय छोरा दिप्सन सॉवा र उनकी बहिनी प्रिन्सा सॉवा गम्भिर घाइते भएका थिए ।
घाइते मध्ये प्रिन्सा सावाको गएराती नै मृत्यु भएको छ । उपचारका लागि झापा ल्याउने क्रममा प्रिन्साको भने गएराति नै मृत्यु भएको थियो । उपचारका लागि बी एन्ड सी अस्पतालमा लगिएका दिप्सनको पनि गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
अर्का घाइते बालक पवनलाई आज पॉचथर अस्पतालबाट कोशी अञ्चल अस्पताल बिराटनगरका लागि रेफर गर्नका साथै दिप्सन राईलाई प्राङवुङबाट फिदिम लगिएको हाम्रा सहकर्मीले जनाएका छन् । नेपाली सेनाका प्रवक्ता गौरबककुमार केसीले सो घट्ना स्थलको प्रकृति हेर्दा विष्फोटक पदार्थ माओबादी सशस्त्र द्वन्दका समयमा लुकाएर राखेको हुनसक्ने बताउनुभयो । विस्फोट भएको सामग्री कति पुरानो हो भन्ने थाहा पाउन त्यसको अवशेष फरेन्सिक प्रयोगशालामा परिक्षणका लागि पठाउनु पर्ने प्रहरीले जनाएको छ ।
मानवअधिकार आयोगको ध्यानाकर्षण
पाँचथरमा भएको सो घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तीमा मृतक तथा घाइतेका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न एवं घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । विस्फोटको घटनाबाट बालबालिकाको मृत्यु हुनु दुखद भएको आयोगको भनाई छ ।
आयोगले द्वन्द्वकालीन समयमा द्वन्द्वरत पक्षबाट छाडीएको विस्फोटक पदार्थ भएको हुनसक्ने आशंका गरेको छ । विस्तृत शान्ति सम्झौतामा दुवै पक्षबीच युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङ्गको रेखाङ्कन, भण्डारणबारे ३० दिन भित्रमा एक अर्कालाई जानकारी दिने र ६० दिनमा निष्क्रिय पार्ने सहमति भएको स्मरण आयोगले गरेको छ ।