बेंसीशहर–डुम्रे सडक ७ घण्टापछि खुल्यो

भाद्र ३१, २०८१ | लमजुङ

लमजुङको उदिपुरमा पहिरो खसेपछि अवरुद्ध भएको बेंसीसहर–डुम्रे सडक करीब ७ घण्टापछि खुलेको छ । बेंसीसहर नगरपालिका-१, उदिपुरको पहिरो नियन्त्रणस्थलसँगै बग्न थालेको नयाँ पहिरोले समय–समयमा सडक अवरुद्ध हुने गरेको छ । 

पछिल्लो समय आइतबार अपराह्न साढे ४ बजेपछि अवरुद्ध सडक राति साढे ११ बजेपछि खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी मिनबहादुर घलेका अनुसार करीब ७ घण्टापछि सडक सञ्चालनमा आएको हो । 

सडक खुलाउन इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङ नेतृत्वमा प्रहरी र ट्राफिक प्रहरी खटिएको थियो । यस्तै, उदिपुर बजारमै बाढीले थुपारेको गेग्रान पनि हटाएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगैको बाढी पहिरोले उदिपुरदेखि बेंसीसहरतर्फको सडकमा क्षति पुर्‍याएको छ । 

पहिरो हटाउनुका साथै बजारमा थुप्रिएको ग्रेग्रान हटाएपछि मध्यरात १२ बजे आसपासबाट यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध हुँदा लमजुङ सदरमुकाम बेंसीसहरका लागि राजधानी काठमाडौं, प्रदेश राजधानी पोखरा साथै चितवन लगायत जिल्लाबाट आउँदै गरेका सवारी साधन दिउँसोदेखि नै उदिपुर बजारमा रोकिएका थिए । 

बेंसीसहरबाट बाहिरँदै गरेका सवारी साधन पनि पहिरो छेउ रोकिएका थिए । सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ हिँडेको प्रहरीले जनाएको छ । लमजुङका बासिन्दाले उदिपुर सडकको विकल्पमा अन्यत्र सडक निर्माण गरी सवारी यात्रालाई सहज बनाउन माग गरेका छन् । 


प्रतिक्रिया