मुगु साक्षर जिल्ला घोषणा

आश्विन ८, २०८१ | वीरेन्द्रनगर

मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । हिमाली जिल्ला मुगुलाई ६५ औं जिल्लाका रुपमा सोमबार साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाको १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तहलाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । 

साविक कर्णालीका ५ जिल्ला मध्ये मुगु पहिलो साक्षर जिल्ला घोषणा भएको हो । साक्षर हुन तोकिएका सबै सूचकहरु पूरा भएपछि जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्यव इकाइ मुगुले जनाएको छ । 

२०७८ को जनगणना अनुसार मुगुको जनसंख्या ६४ हजार ५ सय ४९ छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर छन् । 

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा जिल्लालाई साक्षर घोषणा गर्ने नीति अनुरुप जिल्लालाई साक्षर घोषणा गरिएकको शिक्षा विकास तथा समन्वय इकाका निमित्त प्रमुख खड्क राज भियालले बताउनुभयो । 

जिल्लाको साक्षरता सूचक ५० प्रतिशत भन्दामाथि पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न सफल भएको उहाँले बताउनुभयो । 

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की, छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम, पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी लगायतले सामूहिक प्रतिवद्धता सहितको हस्ताक्षर गर्दै मुगु जिल्लालाई साक्षर घोषणा गरिएको हो । 

साक्षर जिल्ला घोषणा गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारमा ध्यान दिने प्रतिवद्धता जनाउनुभयो । 


प्रतिक्रिया