बेंसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजार नगरपालिका–५, खहरेमा सडक वगाएपछि अवरुद्ध सडक । तस्बिरः लमजुङ प्रहरी । 

आश्विन १२, २०८१ | लमजुङ

वर्षाका कारण बाढीपहिरो हुँदा शुक्रबार रातिदेखि हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । यस्तै, बाढीले सडक बगाउँदा लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठका अनुसार मनाङतर्फ लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, रामबजार काप्रेभीर र च्याम्चेको अक्टोपस झरना नजिकै पहिरोले सडक अवरुद्ध बनाएको छ । 

यस्तै, सुन्दरबजार नगरपालिका ५, खहरे लगायत आसपासका खोल्साखोल्सीमा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

यस्तै, बेंसीसहरदेखि घलेगाउँ–भुजुङतर्फ जाने सडक बेंसीसहर नगरपालिका–९ र ६ को सीमावर्ती क्षेत्र पुमाभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार बेंसीसहर–चामे सडक खण्डको लमजुङतर्फ रामबजार र च्याम्चेमा पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवागमन रोकिएको बताउनुभयो । 

लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बिहीबारदेखि निरन्तर पानी परिरहेको र बाढीपहिरोका कारण सडकहरु अवरुद्ध भएको बताउनुभयो । उहाँले सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । अत्यावश्यक काम बाहेक जोखिम मोलेर बाहरि नहिँड्न पनि उहाँले सबैमा अनुरोध गर्नु भएको छ ।


प्रतिक्रिया