पहिरोले खोटाङमा अधिकांश सडक अवरुद्ध, विद्युुत सेवा ठप्प

आश्विन १२, २०८१ | खोटाङ

अविरल वर्षाले मध्यपहाडी लोकमार्ग लगायत अधिकांश सडक अबरुद्ध भएका छन् । सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल सडक) तथा जिल्लाका अन्य ग्रामीण सडकमा पहिरोले सडक अबरुद्ध भएको हो । 

मध्यपहाडी लोकमार्ग लोकमार्ग अन्तर्गत हलेसी–तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा करीब एक सय मिटर जति पहिरो गई सडक अवरुद्ध भएको हो । वडा नं–७ महादेवस्थानको बर्खेटारमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । 

सो ठाउँमा शुक्रबार पहिरो पन्छाइए पनि राति फेरि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । 

त्यस्तै, गाईघाट–दिक्तेल सडक अन्तर्गत दिप्रुङ–चुइचुम्मा गाउँपालिका–४ बतासेको रमितेभिरमा पहिरो जाँदा सडक बन्द भएको छ । यो सडक अन्तर्गत विभिन्न ठाउँमा समेत पहिरो खसेको डीएपी खड्काले जानकारी दिनुभयो । 

जिल्लाको उत्तरी क्षेत्र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा पहिरो खस्दा सदरमुकाम तथा शहरसँगको यातायात सेवा बन्द भएको छ । जिल्लाको दक्षिणीक्षेत्र बाराहापोखरी–गाईघाट सडक पनि अबरुद्ध भएको छ । 

सो सडकखण्ड अन्तर्गत बाराहापोखरी गाउँपालिका–२ शङ्खे डाडाँमा पहिरो झर्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने सवारी साधन चल्न सकेको छैन । 

सदरमुकाम दिक्तेल लगायत विभिन्न ठाउँमा सवारी साधन थन्किएर बसेको खोटाङ यातायात प्रालिका महासचिव राम हिङ्माङले बताउनुभयो । दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–साकेला, दिक्तेल–पञ्चमी–खोटाङबजार लगायत सडकमा समेत यातायात नचलेको हिङ्माङले जानकारी दिनुभयो ।

विद्युत सेवा पनि अवरुद्ध

अविरल वर्षाका कारण जिल्लामा शुक्रबार रातिदेखि विद्युत सेवा अवरुद्ध भएको छ । जलजले–बुइपा ३३ केभी प्रसारण लाइन र सोलुखुम्बु–ओखलढुङ्गा–बुइपा ३३ केभी प्रसारण लाइन पनि अबरुद्ध छ । पहिरोले कहाँ बिगा¥यो भन्ने समेत थाहा नभएको तर खोजी भने भइरहेको बुइपा सव–स्टेसनले जनाएको छ । 


प्रतिक्रिया