त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगायो

आश्विन १२, २०८१ | गोरखा

त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र गोरखाको शहिद लखन गाउँपालिका–४ ठेवाटार जोड्ने झोलुङ्गे पुल बगाएको हो । 

शनिबार बिहानको बाढीले जिप सहितको पुल झारेको शहिद लखन–४ का वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो । सो पुल भएर ठेउवाटारका स्थानीय आउजाउ गर्दै आएका थिए । ‘पृथ्वीराजमार्ग जोड्ने पुल हो,’ उहाँले भन्नुभयो, ‘बिहानखेरको बाढीले जिप नै उखलेर पुल नदीमा झरेको छ ।’ 

त्यस्तै, त्रिशूली नदीको बाढीले शहिद लखन–३ सिलिङटार र चितवनको कुरीनटार जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानीको सतह झोलुङ्गे पुलसम्म पुगेको प्रहरीले जनाएको छ । 

त्यस्तै, त्रिशूली नदीको बाढीले एक्साभेटर र टिपर पनि बगाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार सिमानामा निर्माणाधिन सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणस्थलबाट टिपर र जेसीभी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

शुक्रबार राति दुई वटा एक्साभेटर, एउटा जेसीभी र तीन वटा टिपर बगाएको श्रेष्ठले जानकारी दिनुभयो । नदीको बीच भागमा रहेको सवारी साधान बाढीले बगाएको हो । 


प्रतिक्रिया