रोशी खोलाले बगाएको बीपी राजमार्गमा ट्रयाक निर्माण सुरु

आश्विन १५, २०८१ | सिन्धुली

बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डको दुम्जा प्रहरी चौकी नजिक रोशी खोलाले बगाएको सडकमा ट्रयाक खोल्न सुरु गरिएको छ । रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी सो सडकमा आजदेखि ट्रयाक बनाउन थालिएको हो ।

गत बिहीबारदेखि परेको वर्षापछि रोशी खोलमा आएको बाढीले बीपी राजमार्गको करीब १ सय मिटर सडक बगाएको थियो । 

रोशी खोलालाई डाइभर्ट गरी अस्थायी रुपमा ट्रयाक बनाउने काम थालिएको खुर्कोटस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । 

दशैं अघि नै नेपालथोक–धुलिखेल खण्ड सञ्चालन गर्ने गरी काम थालिएको सडक डिभिजन कार्यालयका प्रमुख पारसमणी हमालले जानकारी दिनुभयो । 

ट्रयाक खुलेपछि काभ्रेको मंगलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेशी हुँदै रोशी खोलासम्मको क्षेत्रमा बगाएको सडकमा ट्रयाक खोल्नुपर्ने हुन्छ । 

नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । काभ्रेको चौकी डाँडामा करीब आधा किलोमिटर सडक बाढीले बगाएको छ । 

रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रुपमा क्षति भएको छ । थली बेसीमा पनि रोशी खोलाले २ सय मिटर र नार्के पुल नजिक २ सय मिटरको हाराहारीमा सडक बाढीले बगाएको छ ।  


प्रतिक्रिया