हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु
आश्विन १६, २०८१ | वीरेन्द्रनगर
हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र २४ वर्षीया मनसुरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरुको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार उनीहरुसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् । बुधबार (आज) बिहान दशैँका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
घाइतेको एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतकको शव पनि पोष्टमार्टमको लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।