बीपी राजमार्ग अन्तर्गत नेपालथोक-आँपघारी सडक एकतर्फी सञ्चालन

आश्विन १७, २०८१ | काठमाडौं
तीनदिनको प्रयासपछि बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–१ को नेपालथोकबाट आँपघारी सम्मको सडकमार्ग खुलेको छ ।
रोशीखोलाको बाढीले नेपालथोक आँपघारीबीचको बान्द्रेओडारमा दुई सय मिटर सडक बगाएको क्षेत्रमा खोला किनारबाट अस्थायी सडक निर्माण गरि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

अस्थायी सडक सञ्चालनमा आएसँगै आँपघारी र वालुवामा रोकिएका सवारी नेपालथोक–खुर्कोट भएर गन्तव्यतर्फ जान थालेको प्रहरीले जनाएको छ । रोशीखोलाले बगाएको झण्डै १ सय ५० मिटर क्षेत्रमा खोला तर्काएर अस्थायी सडक निर्माण गरिएको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिनुभयो ।
यसैबीच, नेपालथोकबाट वालुवासम्मको दुई किलोमिटर र धुलीखेलबाट चौकीडाँडासम्मको ३५ किलोमिटर क्षेत्रमा यातायात एकतर्फी सञ्चालनमा आएको छ ।