लमजुङमा प्लाष्टिकका फूलगुच्छा प्रतिबन्ध

आश्विन २१, २०८१ | लमजुङ

जिल्ला प्रशासन कार्यालयले लमजुङमा प्लाष्टिकजन्य फूल उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भन्दै प्लाष्टिकजन्य फूलमालाको उत्पादन, बिक्री वितरण, ओसारपसार र उपभोगमा प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।

चाडबाडका बेला प्लाष्टिकजन्य फूलगुच्छाहरु भित्रने भन्दै प्रशासनले चाडबाडकै समयमा नागरिकलाई सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले लमजुङका विभिन्न पालिकामा फूल खेती व्यवसायको रुपमा विकास हुने क्रममा रहेको र नेपाल समेत क्रमशः पुष्प व्यवसायमा आत्मनिर्भर हुँदै आएको सन्दर्भमा प्लाष्टिकजन्य वस्तुवाट निर्मित फूलमाला, खादा र अन्य सामग्रीको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिएको बताउनुभयो । 

‘नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको व्यहोराको मिति २०७९ श्रावण १२ को नेपाल राजपत्रमा प्रकाशित सूचना समेत सबैमा अवगत छ’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टिकजन्य फूलमालाको उत्पादन, विक्रिवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने बताउनुभयो । ‘हामी बजार अनुगमनमै छौं,’ उहाँले भन्नुभयो, ‘अनुगमनको क्रममा प्लाष्टिकजन्य सामग्रीहरु बिक्री वितरण भएको पाइएमा सो सामान जफत गरी कडा जरिवाना गरिनेछ ।’

वातावरणमैत्री र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न समेत टेवा पुग्ने भएकाले प्राकृतिक रुपमा उत्पादन भएको पुष्पगुच्छा, फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्नु गराउन प्रशासनले सबै सरकारी, निजी, गैर सरकारी कार्यालयहरु र लमजुङबासीमा अनुरोध गरेको छ ।


प्रतिक्रिया