पुष्पलाल लोमार्ग र लामोसाँघु जिरी सडकमा टाईम कार्ड लागू
आश्विन २१, २०८१ | दोलखा
पुष्पलाल लोमार्ग र लामोसाँघु जिरी सडकमा दुर्घटना न्युनिकरणका लागि सार्वजनिक सवारी साधनमा टाईम कार्ड लागू गरिएको छ ।
वीपी राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोगमा आएको पुष्पलाल लोमार्ग र लामोसाँघु जिरी सडकमा सवारी दुर्घटना न्युनिकरणका लागि सोमबारदेखि टाईम कार्ड लागू गरिएको दोलखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दोलखाको खरढुङगाबाट चरिकोटसम्म १ घण्टा र चरिकोटबाट रामेछाप सिमाना किर्नेटारसम्म १ घण्टा ३५ मिनेटको सार्वजनिक सवारी साधनको समय तोकिएको छ ।
यस्तै, चरिकोटबाट जिरी हुँदै सोलुखुम्बु जाने सवारी साधनलाई जिरीसम्म २ घण्टा १५ मिनेट समय निर्धारण गरिएको दोलखाका प्रहरी प्रमुख युवराज खड्काले बताउनुभयो । ‘वीपी राजमार्गको वैकल्पिक सडक भएकाले सवारीको चाप अत्याधिक छ, यो रुटका अधिकांश नयाँ चालक छन्,’ उहाँले भन्नुभयो, ‘दुर्घटना न्युनिकरण र सवारी साधन व्यवस्थापन गर्न जिल्लामा टाईम कार्ड लागू गरिएको हो ।’
दैनिक २÷३ सय सवारी साधान गुड्ने यी मार्गमा अहिले १ हजार भन्दा बढी सार्वजनिक सवारी साधन गुडिरहेको उहाँले बताउनुभयो । पुष्पलाल र लामोसाँघु–जिरी सडक हुँदै रामेछाप, ओखलढुङगा, सिन्धुली, भोजपुर, खोटाङ सोलुखुम्बुका सवारी साधन गुडिरहेको खड्काले जानकारी दिनुभयो ।
यी मार्गमा सवारी चालकलाई स्थानीय तहको सहयोगमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । अरनिको राजमार्गबाट लामोसाँघु–जिरी सडकको चरिकोटबाट वैकल्पिक पुष्पलाल लोकमार्गको रामेछापबाट सित्खा हुँदै खुर्काेटबाट पूर्वी जिल्ला सवारीसाधन आउजाउ गरिरहेका छन् ।