बाढी पहिरोबाट थाहाका २६ खानेपानी आयोजनामा डेढ करोडको क्षति
आश्विन २१, २०८१ | हेटौंडा
गत साता आएको बढी पहिरोले मकवानपुरको थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजना क्षतिग्रस्त बनाएको छ ।
वर्षापछि आएको बाढी पहिरोले खानेपानीका १८ वटा इन्टेक र २४ वटा रिजर्भ ट्याङ्कीमा क्षति पुगेको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ ।
विभिन्न साइजका गरी १६ हजार १७० मिटर पोलिथिन पाइप बाढीले बगाउनुको साथै फुटाएको छ । एक हजार ३२४ मिटर जीआइ पाइपमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । दुई दिनको बाढी पहिरोले करीब १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको थाहा नगरपालिकाका प्रमुख विष्णु् विष्टले बताउनुभयो ।
नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार इन्टेकहरुमा भएको क्षति करीब ९ लाख रुपैयाँको छ भने रिजर्भ ट्याङ्कीको क्षति मूल्याङ्कन १ करोड ३१ लाख ७५ हजार रुपैयाँको रहेको छ । त्यसैगरी पोलिथिन पाइप २० लाख १७ हजार ४५१ र जीआइ पाइपको क्षति मुल्याङ्कन २ लाख १० हजार ४६६ रुपैयाँ रहेको नगरपालिकाका सव इन्जिनियर सीताराम ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाको १२ वटै वडाबाट तथ्याङ्क संकलन गरी क्षतिको मुल्याङ्कन गरिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिनुभयो ।
भुजेलका अनुसार खानेपानी आयोजनामा भएको क्षति पुनर्निर्माणका लागि पालिकासँग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागहरुमा अनुरोध गरी पठाइएको छ । क्षतिपछिको पुनर्निर्माणका लागि पालिकाले सरकारी तथा गैर सरकारी निकायसँग आग्रह गरेको छ ।