दशैंमा पनि सुनसान छ गाउँ

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोशमा रहेको धानखेती । तस्बिर : रेडियो कान्तिपुर 

आश्विन ३०, २०८१ | स्याङ्जा

घटस्थापनापछि दशैं आएको भान हुन्थ्यो । गाउँ नै उज्यालो हुने । मेलापात थाती राखेर गाउँ सरसफाई गर्ने, घर सजाउने काम गरिन्थ्यो । घर रंगाउनको लागि सेतो र रातो माटो खोज्न, खन्न धाउनुपर्ने । गाउँभरीका महिला मिलेर माटो लिन जान्थ्यौँ । छोरा मान्छे खशी, च्याङ्ग्राको जोहोतिर लाग्थे । 

बजार गएकाहरु घटस्थापनापछि घर आउँथे भने, सप्तमी र अष्टमीसम्म विदेशिएका परदेशी पनि आउँथे । दशैंको मौका पारी परदेशी घर फर्किने भएकाले पनि घर भरिभराउ हुन्थ्यो । युवाहरु टोल–टोलमा पिर्के र लिङ्गे पिङ हाल्न तम्सिन्थे । मिठो खाने र नयाँ कपडा लगाउने भनेपछि केटाकेटीको मुहारमा पनि छुट्टै रौनक देखिन्थ्यो ।

घरघरमा सेल रोटी हाल्ने चलन पहिलेकै हो । वर्षमा एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेल्न उस्तै घुइँचो लाग्थ्यो । तर, आजभोलि गाउँमा दशैंको महसुस गर्न सकिँदैन् । दशैंका अघिल्ला दिनसम्म सुनसान हुने गाउँमा टीकाको दिनमा पनि त्यति रमाइलो भएन् । 

घर आउनैपर्ने बाध्यता भएका सदस्य घर आए पनि कतिपय पहिले जस्तो घर फर्किनै छोडे । न गाउँका घर रातो माटोले लिपिएका छन् न त पिङ् नै देख्न सकिन्छ । समयसँगै मानिसका दैनिकी पनि फेरिएका छन् । यो भनाई स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोशकी ७८ वर्षीया तारादेवी पोखरेलको हो ।

‘अहिले घरघरमा बाटो पुग्यो’, उनी सुनाउँछिन्, ‘पहिलेजस्तो हिँडेर जानेहरु भेटिदैनन् । गाउँभरी टीका थाप्दै हिडिन्थ्यो आजभोलिका छोराछोरी गाउँघरमा टीका थाप्न जान मान्दैनन् ।’ उनले दुई÷चार वर्षको अन्तरालमा दशैं फेरिएको अनुभव सुनाइन् । दशैंको बेला जुठो (आफन्त बितेपछि बार्नुपर्ने चलन) र सुत्केरो परेकाले पनि टीका नहुँदा झन सुनसान भएको उनको भनाई छ ।

फाँटमा लहलह थान झुलेको छ । दशैंसँगै किसानलाई धान थन्काउने चटारो पनि उत्तिकै । तर, गाउँ उजाडिँदै गएको अनुभव छ, मीना सुवेदीको । उनी भन्छिन, ‘चाडपर्वमा आत्मीयता हुनुपर्छ । आजभोलि आत्मीयता छैन् । मानवता हराउँदै गएपछि चाडपर्व पनि बाध्यताले मनाउनुपर्ने रैछ ।’ जिम्मेवारीले थिच्दै गएपछि चाडपर्व पनि बाध्यतामा ढल्किदै गएको उनी बताउँछिन् ।

यहाँका अधिकांश युवापुस्ता वैदेशिक रोजगारमा छन् । सरकारी सेवामा कार्यरत पनि घर फर्किन पाएनन् । गाउँ फर्किएकाको संख्या भने गन्य मात्र थियो । दशैंको अघिल्लो दिन घर फर्किएका तिनीहरु दशैंका दिन फर्किन हतारिए । कोही ससुराली त कोही माइती, मावली पुगेर दैनिकीमा फर्किने हतारोमा थिए । कंक्रिटले बनेका घरमा माटो देख्न पाइदैन् । ढुंगा, माटोले बनेका घरमा पनि सिमेन्ट लगाउन थालेपछि माटोको चलन हराउँदै गएको स्थानीय बताउँछन् । 


प्रतिक्रिया