संघीयतासम्बन्धी कानुन छिटो टुंगो लगाउन सभामुखको निर्देशन

कार्तिक ६, २०८१

सभामुख देवराज घिमिरेले संघीयतासम्बन्धी कानुन छिटो टुंगो लगाउन संसदीय समितिका सभापतिहरुलाई निर्देशन दिनुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिहरुसँग आज सिंहदरबारमा भएको बैठकमा सभामुख घिमिरेले संघीयता कार्यान्वयनसम्बन्धी विधेयकहरु छिटो टुंग्याउन सभापतिहरुलाई निर्देशन दिनुभएको हो । 

संघीयता कार्यान्वयनसँग सम्बन्धित विद्यालय शिक्षा र संघीय निजामती विधेयक समितिमा विचाराधीन छन् । सभामुख घिमिरेले विभिन्न समितिमा विचाराधीन अन्य विधेयक पनि संसद्को आगामी अधिवेशनमा पेस गर्नुपर्ने भन्दै कुनै अप्ठारो भए शीर्ष नेताहरुसँग आफूले सहजीकरण गर्नेसमेत बताउनुभएको थियो । 

बैठकमा समितिका सभापतिहरुले भने कोरम नपुग्दा बैठकहरु बस्न नसकेको र विधेयकमा छलफलका लागि पर्याप्त समय दिन नसकिएको बताएका थिए । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरुमा अहिले १५ वटा विधेयक विचाराधीन छन् ।


प्रतिक्रिया