कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
कार्तिक १४, २०८१ | काठमाडौं
मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालन पश्चात सोही नाकाबाट आवतजावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।
गृहमन्त्री रमेश लेखकले आज कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनमा आएसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्त्वपूर्ण हुने बताउनुभयो ।
कोरला नाका सञ्चालनमा आएसँगै गण्डकी प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवर्द्धन, पर्यटन विस्तार आदिका लागि बहुउपयोगी बन्ने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो ।
अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पु¥याइसकेको हाम्रा सहकर्मीले जनाएका छन् ।
समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको सो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।