दीर्घायु, सुख तथा समृद्धिको कामना गर्दै भाईटीका मनाइयो
कार्तिक १८, २०८१ | काठमाडौं
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामना गर्दै भाईटीका लगाएर मनाइएको छ ।
दिदिबहिनीले दाजुभाईलाई टीका लगाईदिँदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने प्रचलन छ ।
पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई विशेष सम्मान पूर्वक पूजाआजासहित भाईटिका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ । टिकामा साईतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाईलाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस, मसला तथा सेलरोटी खुवाउने चलन छ ।
दिदी बहिनीले टिका लगाई दिएपछि दाजुभाईहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गरिन्छ ।
यसैबीच दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर दिनभर खुलेको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।