छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा सुरु

मंसिर १२, २०८१

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा सुरु भएको छ । एशियाली जनसंख्या संघ एपीए र त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागको सयुक्त आयोजनामा आयोजित सम्मेलनमा विभिन्न देशबाट करीब ५ सय जनसंख्याविद्को सहभागिता रहेको जनाइएको छ । 

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उहाँले काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका आमासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जनसंख्याका विषयमा देखिएका पछिल्लो चुनौतीहरुलाई ध्यान दिएर नवप्रवर्तनका नीतिहरु अवलम्वन गरिनुपर्ने बताउनुभयो । जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि सरकारले काम गरिरहेको समेत बताउनुभयो । चार दिनसम्म चल्ने सम्मेलनमा १७ वटा विषयका कार्यपत्रमा बहस हुने आयोजक समितिका संयोजक प्रमुख प्राध्यापक. योगेन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो । 


प्रतिक्रिया