अधिकारीलाई उन्मुक्ति दिइएको भन्दै रास्वपाको आपत्ति
मंसिर ११, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानव तस्करीमा मुछिएका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्वभ अधिकारी उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई भने महिना दिनभन्दा बढी लगातार म्याद थपेर हिरासतमा राखेर प्रतिसोध साँधिएको आरोप समेत लगाएको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले एमाले नेता अधिकारीलाई उन्मुक्ति दिइएको बिषयले रास्वपामाथि प्रतिशोध साँधिएको थप स्पष्ट पारेको दाबी गर्नुभएको हो । झाले भन्नुभयो–लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साँधिएको थप स्पष्ट पारेको छ । जुन हामीले भन्दै आएका थियौँ । नत्र एमाले नेता छुट्दा हाम्रा सभापति किन छुटेनन् ?’
मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी हिजो रिहा भएका थिए । उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गर्दै हिरासतमुक्त गरेको थियो ।