पाइलट काममा फर्किए
मंसिर १२, २०८१
झण्डै एक सातादेखि ह्डतालमा उत्रिएका नेपाल वायुसेवा निगमका पाइलट काममा फर्किएका छन् । उनीहरुको माग सम्बोधन गर्ने प्रक्रियामा रहेकाले काममा फर्किएको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।
पाइलटको माग सम्बोधनका क्रममा रहेको र केही दिनमा सम्बोधन हुने मन्त्री पाण्डेको भनाई थियो । करारमा कार्यरत अस्थायी पाइलटहरूसरह तलब सुविधाको माग गर्दै गत बिहीबारदेखि उनीहरु उडानमा नगई बिदा बसेर हड्तालमा उत्रिएका थिए । निगमका पाइलटहरूले उठाएका विषयलाई वैज्ञानिक आधारमा सम्बोधन गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।
गत बिहीबारदेखि ८ जना पाइलटले सल्लाह गरेर बिरामी तथा भैपरी बिदा लिएपछि निगमले आइतबार काठमाडौं–दुबई तथा मुम्बई–काठमाडौं उडान रद्द गरेको थियो भने अरु आधा दर्जन उडान घन्टौं डिले हुँदा १ हजार हाराहारी यात्रु अलपत्र परेका थिए । निगमका ७ जना पाइलट र पर्यटन सचिव डा. गणेश प्रसाद पाण्डे, सहसचिव रामकृष्ण लामिछाने, अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल लगायतबीच हिजो वार्ता भएपछि आन्दोलन फिर्ता भएको थियो ।