जनकपुरधाममा रामजानकी विवाह महोत्सव सुरु

मंसिर १६, २०८१ | जनकपुर


जानकी जन्मभूमि जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सव विधिवत रुपमा सुरु भएको छ ।

महोत्सवको पहिलो दिन राम, लक्ष्मण र गुरु विश्वामित्रको प्रतीकका रुपमा ३ जनालाई मन्दिरको प्राङ्गणमा घुमाइने प्रचलन छ । महोत्सवको अवसरमा जानकी मन्दिरलाई बेहुली झैं श्रृंगारिएको छ ।

रामको जन्मभूमि अयोध्याबाट यो वर्ष ५ सयको संख्यामा जन्ती तथा साधु सन्त जनकपुर आउँदै छन् । गोस्वामी तुलसी दासद्वारा लिखित रामचरित मानसमा वर्णन गरिए अनुसार त्रेतायुगमा राजा जनकले आयोजना गरेको धनुषयज्ञमा धनुषको दर्शन गर्न गुरु विश्वामित्रसँगै राम र लक्षमण मिथिला नगरी जनकपुर आएको धार्मिक विश्वास छ ।

महोत्सवको दोश्रो दिन भोलि फूलबारी लीला गर्ने कार्यक्रम छ । राम जानकी विवाह मण्डपस्थित फूलबारीमा रामको जानकीसँग पहिलो मिलन हुने कार्यक्रम तय भएको छ । यसैगरी तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन राम जानकीको स्वयंम्बर र राति विवाह तथा सातौ दिन जन्तीहरुलाई मरजाद भोज खुवाएर राम जानकी विवाह महोत्सव सम्पन्न हुनेछ ।

यस वर्षको विवाह महोत्सवमा करीब १० लाख श्रद्धालु सहभागी हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताउनुभयो । 


प्रतिक्रिया