परीक्षा सम्बन्धी ६ सदस्यीय उच्चस्तरीय कार्यदल गठन
मंसिर १८, २०८१
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको समग्र पुनः संरचनासहित कक्षा १० र १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेश तहमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने रजिष्ट्रेशन शुल्क लगायत विषयमा राय संकलनका लागिपूर्व सचिवशंकर प्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदलले मौजुदा परीक्षा पद्दतिमा गर्नुपर्ने सुधार, विद्यमान परीक्षाको आवश्यकता, हाल अभ्यासमा रहेका कक्षा १० र १२ एवं प्राविधिक तथा व्यावसायिक तालिम परिषदका छुट्टाछुट्टै परीक्षा नियन्त्रण कार्यालयलाई एकीकृत गरी विद्यमान परीक्षा पद्धति अझ व्यवस्थित र वैज्ञानिक ढंगले सेवा प्रवाहका लागि सुझाव दिने जिम्मेवारी पाएको छ ।