त्रिविको डिन नियुक्तिमा सत्तारुढ दलबीच विवाद

मंसिर २५, २०८१

त्रिभुवन विश्वविद्यालयको डिन नियुक्तिको विषयलाई लिएर सत्तारुढ दलबीच फरक धारणा देखिएको छ । उपकुलपति केशरजंग बरालले नियुक्ति सम्बन्धी मापदण्ड निर्माण गरेपनि डिन नियुक्तिको विषयलाई लिएर एमाले र कांग्रेसका नेताहरुले फरक धारणा बाहिरिएको हो । मेरिटोक्रेसीका आधारमा नियुक्ति प्रक्रिया अघि बढेका बेला एमालेले असन्तुष्टी जनाएको छ । 

सामाजिक सञ्जालमा धारणा राख्दै एमाले महासचिव शंकर पोखरेलले त्रिविलाई एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्ने गरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिएको टिप्पणी गर्नुभएको छ । कांग्रेस नेता नैनसिंह महरले भने विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति मेरिटोक्रेसीका आधारमा गर्नुपर्ने बताउनुभयो । काठमाण्डौंमा आयोजित कार्यक्रममा उहाँले विश्वविद्यालयको गरिमा बढाउन कांग्रेस दृढतापूर्ण लागेको बताउनुभयो ।

त्रिविको पदाधिकारी नियुक्तिमा दलीयकरण बढेको भन्दै चौतर्फी आलोचना भएपछि अघिल्लो सरकारको पालामा त्रिविका उपकुलपति केशरजंग बराललाई मेरिटोक्रेसीका आधारमा छनौट गरिएको थियो । अहिले त्रिविले मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान, कृषि, वन, मानविकी र शिक्षाशास्त्रसहित ८ संकायमा डिन नियुक्तिको प्रक्रिया अघि बढाएको छ । यसैबीच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीले त्रिविको नीति सभापछि डिन नियुक्ति प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले त्रिविले कार्यान्वयनमा ल्याएको मापदण्डकै आधारमा डिन नियुक्त गर्ने बताउनुभयो । त्रिविले पर्सी विहिबार नीति सभा बोलाएको छ । 


प्रतिक्रिया