वीरगन्ज पुर्‍याइएका लामिछानेसँग ४ घण्टा बयान

मंसिर २५, २०८१

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगन्ज लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घण्टा बयान लिइएको छ । सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिनु भएको हो । बयानको क्रममा लामिछानेसँग ५४ वटा प्रश्न सोधिएको निरौलाले जानकारी दिनुभयो ।

बयान सकिएपछि पूर्वगृहमन्त्री रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ देखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि हिजो वीरगन्ज पु¥याएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बुधबार म्याद सकिने भएकाले त्यो भन्दा अगाडि नै लामिछानेलाई पोखरा पठाइने बताउनुभयो । सानो पाइला सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि सोमबार बिहान वीरगन्ज ल्याइएका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई भने बयान सकाएर हिजै बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।


प्रतिक्रिया