कान्तिपुरकर्मी दाहाललाई एन्टी करप्सन च्याम्पियन अवार्ड
मंसिर २५, २०८१
कान्तिपुरकर्मी मातृका दाहालले भ्रष्टाचार विरुद्ध अमेरिकी सरकारको एन्टी करप्सन च्याम्पियन अवार्ड प्राप्त गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे व्लिन्कनले पत्रकार दाहाललाई वासिङ्टन डिसीस्थित विदेश मन्त्रालयमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्नुभएको हो ।
सन् २०२१ मा जो वाइडेन प्रशासनले विश्वभर भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त बनाउन र संसारभर सुशासन कायम गर्ने लक्ष्यका साथ विभिन्न पेसा व्यवसायमा रहेर उत्कृष्ट काम गर्नेलाई सम्मान गर्न सो अवार्ड विदेश मन्त्रालय मार्फत प्रदान गर्ने गरी स्थापना गरिएको थियो ।
सोही अन्तर्गत सन् २०२४ का लागि अमेरिकी विदेश मन्त्रालयले कान्तिपुर दैनिकका पत्रकार दाहाललाई सो अवार्ड प्रदान गरिएको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बारेको अपराधसहित भ्रष्टाचारका समाचार सम्प्रेषण गरेका पत्रकार दाहालले भ्रष्टाचार विरुद्ध साहसिक काम गरेको अवार्डमा उल्लेख छ । दाहालसहित सन् २०२४ का लागि यो अवार्ड अन्य मुलुकका ९ जनालाई समेत प्रदान गरिएको छ ।