मुलुकका अधिकांश स्थानमा चिसो बढ्यो
मंसिर २६, २०८१ | काठमाडौं
काठमाडौँ उपत्यका सहित मुलुकका अधिकांश स्थानमा चिसो निरन्तर बढ्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।
तापक्रम घट्न थालेसँगै जनजीवन प्रभावित बनेको हो । चिसो बढ्नेक्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
बाक्लो हुस्सुका कारण तराईका अधिकांश विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । तराई मधेशका क्षेत्रमा बढेको चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
महाशाखाका अनुसार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने छ ।
महाशाखाको नियमित मौसम बुलेटिन अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ ।